जयश्री, नारायणी र नन्दन सामुदायिक वनद्वारा दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार सहयोग
भदौ १७ । गैंडाकोट नगरपालिकामा रहेका तीन सामुदायिक वन उपभोक्ता समूहले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संयुक्त रूपमा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
जयश्री सामुदायिक वन उपभोक्ता समूह, नारायणी सामुदायिक वन उपभोक्ता समूह र नन्दन सामुदायिक वन उपभोक्ता समूहले संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरेका हुन्।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सामुदायिक वनहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरेका हुन्।
सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षण, वातावरणीय संरक्षण तथा प्राकृतिक स्रोत व्यवस्थापनसँगै विपद् तथा सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो योगदानलाई निरन्तरता दिँदै आएका छन्।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामुदायिक दायित्वसमेत भएकाले संयुक्त रूपमा राहत कोषमा रकम जम्मा गरिएको सम्बन्धित सामुदायिक वनका प्रतिनिधिहरूले बताएका छन्।
सामुदायिक वनहरूको यस सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।